ज्येष्ठ नागरिकहरुको दीर्घजीवन लागि सचेतना तथा सम्मान कार्यक्रमः program
ज्येष्ठ नागरिकहरुको दीर्घजीवन लागि सचेतना तथा सम्मान कार्यक्रमः
जिल्ला विकास समितिको कार्यालय मोरङको आर्थिक सहयोग तथा टंकिसिनवारी गाविस र नेपाल ग्रामीण विकास समाज केन्द्रको संयुक्त आयोजनामा मोरङ्गको टंकिसिनुवारी गाविसमा मिति २०७२ जेष्ठ २० गते बुधबारका दिन ज्येष्ठ नागरिकहरुको दीर्घजीवन लागि सचेतना तथा सम्मान कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुका साथै दिर्घजीवन सचेतनाका लागि डकुमेन्ट्री प्रर्दशन गरिएको थियो । कार्यक्रममा सम्मान हुनेहरुमा वि.सं. १९८० साल भन्दा पहिले जन्म भएका ९० देखी १०४ बर्षसम्मका ३० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । जिविसका योजना अधिकृत डमरुबल्लभ बराल, सामाजिक विकास अधिकृत लक्ष्मी धिमाल, गाविस सचिव तथा शाखा अधिकृत विनोदकुमार नेउपाने र केन्द्रका अध्यक्ष मणिकुमार अज्र्याल लगायतले दोसल्ला, फुलको माला तथा अबिर लगाई सम्मान गर्नु भएको थियो । उनीहरुलाई जनही २ सय रुपैयाका साथै प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा जिविसका योजना अधिकृत बरालले जेष्ठ नागरिकहरुलको सम्मान तथा उनीहरुको सुरक्षा गर्नु राज्यको दायित्व भएको भन्दै यसका लागि पहल गर्ने आश्वासन दिनुभयो । उहाले जेष्ठ नागरिक ऐन २०६३ मा जिल्ला जेष्ठ नागरिक सरोकार समिति गठन भएपनि त्यसले सक्रियताका साथ काम गर्न नसकिरहेको भन्दै त्यसलाई सक्रिय बनाउने आश्वासन दिनुभयो । उहाले धेरै घरमा जेष्ठ नागरिकहरुमाथि घर परिवारबाट राम्रो ब्यवहार नभएको भन्दै त्यसलाई सुधार्न संस्कार बसाल्नुपर्ने बताउनुभयो ।
जिविसका सामाजिक बिकास अधिकृत धिमालले स्थानीय निकायले जेष्ठ नागरिकहरुका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिरहेपनि त्यो पर्याप्त नभएको भन्दै आगामी दिनमा प्रभावकारी कार्यक्रम गर्न सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । केन्द्रका अध्यक्ष अज्र्यालले राज्यले जेष्ठ नागरिकलाई सम्मान स्वरुप दिएको बृद्धभत्ता समेत ब्यवस्थित हुन नसकेको गुनासो गर्नुभयो । उहाले जेष्ठ नागरिकहरुको हक अधिकार प्राप्तीका लागि काम गरिरहेका सवै संस्थाहरुबिच समन्वय हुनुपर्नेमा जोड दिदै त्यसका लागि जिविसले पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा केन्द्रका उपसभापति भुवनेश्वर मण्डल, गाविस सचिव बिनोद कुमार न्यौपाने, संघीय समाजबादी पार्टीका राजेश्वर बिश्वास, समाजसेवी चन्द्रशेखर न्यौपाने लगायतले बोल्नु भएको थियो ।